काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन प्रक्रियाबारे सभामुख देवराज घिमिरेले सत्तारुढ दल नेपाली कांग्रेससँग छलफल जारी राखेका छन्।

प्रतिनिधि सभा नियमावली अनुसार समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने अन्तिम दिन यही हो। सभामुख घिमिरे विगत केही दिनदेखि निरन्तर पार्टीसँग छलफल गर्दै आएका छन्।

advertisement

आज बिहान सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेटघाट गरे भने पुनः सिहंदरबारमा छलफल भइरहेको छ। सभामुखको कार्यकक्षमा प्रमुख सचेतक घिमिरेसँगै सांसद दिलेन्द्र बडू पनि सहभागी छन्।

गत शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सभामुख घिमिरेले नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक घिमिरेसँग एक्लै र संयुक्त रुपमा छलफल गरेका थिए। यसबाहेक उनले गृहमन्त्री रमेश लेखकसँग पनि छलफल गरेका थिए।

राज्य व्यवस्था समिति सभापतिको पद गत साउन २८ गतेदेखि रिक्त छ। प्रतिनिधि सभा नियमावलीको नियम १७७ को उपनियम ५ अनुसार समितिको सभापतिको पद रिक्त भए १५ दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान छ। त्यसअनुसार यही भदौ ११ गतेसम्म निर्वाचन सम्पन्न गर्नुपर्ने छ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन हुने भन्दा कम्तीमा ४८ घण्टा अघि तालिका सार्वजनिक गर्नुपर्ने प्रावधान छ। त्यसअनुसार आज नै सभापतिको निर्वाचन तालिका सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com