गोरखा । गोरखामा करिब ४१० रोपनी क्षेत्रमा लगाइएको धानबालीमा मरुवा रोग देखिएको छ। विशेषगरी पालुङटार नगरपालिका वडा नं ४, ६ र ८ मा समस्या फैलिएर सबैभन्दा बढी वडा नं ८ स्थित द्वारटारमा असर परेको छ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टका अनुसार, रोगका कारण प्रभावित क्षेत्रमा धानका रोपो सुकिसकेको अवस्था छ। “किसानको जानकारीपछि कृषि प्राविधिकसहितको टोली खेतमै पुगेको छ र रोगको अध्ययन पूरा भइसकेको छ,” उनले बताए।
मरुवा रोग धानबालीमा लाग्ने एक प्रकारको ढुसी कीरा हो। विष्टका अनुसार, समयमा ढुसीनासक औषधि प्रयोग गर्न सकिएमा रोग नियन्त्रण गर्न सकिन्छ। यस रोगले गोरखनाथ, सावित्री र मन्सुली जातको धानबालीलाई विशेष प्रभावित गरेको छ भने राम जातको धानबालीमा रोग देखिएको छैन।
पालुङटार नगरपालिका वडा नं ४ र ६ मा करिब १० रोपनी क्षेत्र प्रभावित भएको छ। रोग लागेको क्षेत्रका किसानलाई ढुसीनासक औषधि र स्प्रे उपलब्ध गराइसकिएको हुँदा करिब ५० प्रतिशत धानबाली जोगाउन सकिने आशा गरिएको छ।
अधिकृत विष्टले कृषकलाई सल्लाह दिए, “धानको बीउ खरिददेखि नै ख्याल नगरेमा यस्तो समस्या देखिन सक्छ। साथै, धानको जातले पनि रोग लाग्ने जोखिम निर्धारण गर्न सक्छ।”
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार












प्रतिक्रिया