काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा बिचौलियासँग सम्बन्ध राख्ने र दलाल प्रवृत्तिमा रहेका व्यक्तिहरूलाई स्थान नदिने स्पष्ट संकेत दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “हाम्रो पार्टीका कतिपय नेता शान्ति प्रक्रियापछि समाजवादी बन्नुपर्नेमा दलाल र बिचौलिया प्रवृत्तिमा फसेका छन्। यस्तो प्रवृत्ति पार्टीलाई कमजोर बनाउँदैछ। अब सबै सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ।”
उनले थपे, “यी प्रवृत्तिहरू लामो समय माओवादी पार्टीमा टिक्न सक्दैनन्। माओवादी केन्द्र नै नेपालमा समाजवाद निर्माण गर्ने सम्भावना बोकेको एकमात्र पार्टी हो।”
अध्यक्ष प्रचण्डले पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन संघर्ष नै हुने बताए। उनले भने, “हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो। उत्पादन संघर्षमा पार्टी मात्र केन्द्रित नभई जनसमुदायको सक्रिय सहभागिता आवश्यक छ।”
हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ निर्णय कार्यान्वयनमा नआएको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्ने अभियान सञ्चालन गर्ने बताए।
अध्यक्ष प्रचण्डले कृषि, उद्योग, जडीबुटी, पर्यटन जस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रूण हुने बताउँदै सहकारी आन्दोलनलाई जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए।
सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाको विरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिको लडाइँ लडेको स्मरण गर्दै उनले स्पष्ट पारे, “माओवादी केन्द्र त्यस्ता प्रवृत्तिसँग सहअस्तित्व गर्न सक्दैन।”
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया