काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीभित्र दलाल पुँजीवाद र बिचौलिया प्रवृत्ति बढ्दै गएको स्वीकार गर्दै यस्ता नेताहरूलाई तत्काल सच्चिन चेतावनी दिएका छन्।

आइतबार पेरिसडाँडामा बसेको पार्टीको आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियापछि केही नेताहरू समाजवादी बन्नुको सट्टा दलाल र बिचौलिया प्रवृत्तिमा फसेको उल्लेख गर्दै जनतामाझ पार्टीप्रतिको भरोसा कमजोर भएको बताए।

advertisement

“दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई अब माओवादी केन्द्रमा धेरै दिन स्थान छैन,” दाहालले चेतावनी दिंदै भने, “यस्ता प्रवृत्ति लामो समय पार्टीमा रहन सक्दैनन्।”

उनले पार्टीको मुख्य लक्ष्य समाजवाद भएको र त्यसको आधार ‘उत्पादन संघर्ष’ हुने स्पष्ट पार्दै प्रत्येक सदस्यले सोच र शैलीमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए। हेटौंडा महाधिवेशनले अघि सारेको ‘युद्ध होइन, उत्पादन संघर्ष’ को नीति अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै उनले अब विशेष अभियानमार्फत जनतासँग प्रत्यक्ष जोडिनुपर्ने बताए।

अध्यक्ष दाहालले कृषि, उद्योग, जडीबुटी र पर्यटनजस्ता स्थानीय सम्भावनाको सदुपयोग गरेर मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने धारणा राखे। सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा आफूले दलाल प्रवृत्तिविरुद्ध लडाइँ लडेको स्मरण गर्दै उनले माओवादी र दलाल प्रवृत्ति एकैसाथ टिक्न नसक्ने ठोकुवा गरे।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com