काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वाधीनता मजबुत पार्ने, लोकतान्त्रिक अभ्यासलाई सबल बनाउने र जनताको आधारभूत अधिकार सुनिश्चित गर्ने आफ्नो दृढ प्रतिबद्धता प्रकट गरेका छन् ।

सोमबार पार्टी स्थापना भएको चार वर्ष पूरा भएको अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष नेपालले विश्व कम्युनिस्ट आन्दोलनको मूल ध्येय मजदुर, किसान र उत्पीडित वर्गलाई सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध एकजुट गराउँदै न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था निर्माण गर्नु रहेको स्मरण गराए ।

advertisement

‘पुनर्गठन दिवसको अवसरमा हामी यी आदर्श र ऐतिहासिक यात्रालाई स्मरण गर्दै राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको अधिकार सुरक्षित गर्ने प्रतिज्ञा गर्दछौँ,’ अध्यक्ष नेपालले भनेका छन् ।

उनका अनुसार नेपालको कम्युनिस्ट आन्दोलनले सुरुदेखि नै सामन्तवाद, साम्राज्यवाद र निरङ्कुशताविरुद्ध संघर्ष गर्दै राष्ट्रियता, लोकतान्त्रिक अधिकार र जनजीविकाको सवाललाई अगाडि सारेको छ । श्रमिक, किसान, दलित, महिला र उत्पीडित वर्गको मुक्ति हुँदै वर्गविहीन समाज निर्माण यसको मूल लक्ष्य रहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले एकीकृत समाजवादी दक्षिणपन्थी नीतिगत विचलन, व्यक्तिवाद, अहंकार, स्वेच्छाचारिता र अधिकारको केन्द्रीकरणविरुद्ध विद्रोहकै आधारमा जन्मिएको दल भएको उल्लेख गर्दै, यसले कम्युनिस्ट आन्दोलनलाई शुद्धीकरण, एकीकरण र सशक्तिकरणको ऐतिहासिक जिम्मेवारी बोकिरहेको दाबी गरे ।

उनले नेपाली कम्युनिस्ट आन्दोलनमा अझै पनि अनेकौँ विकृति र विसङ्गति रहेको स्वीकार गर्दै, त्यसविरुद्ध नेता–कार्यकर्तासँगै आम जनतालाई सचेत र गोलबन्द गराई आन्दोलनलाई प्रगतिशील, जनमुखी र एकीकृत बनाउनुपर्ने आवश्यकता औँल्याए ।

यससँगै नेपालले मुलुकको सार्वभौमिकता र भूगोलप्रति देखिएको चुनौतीप्रति चिन्ता व्यक्त गरे । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारत र चीनबीचको समझदारीमा समेटिएको विषय सञ्चारमाध्यममा आएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सार्वभौमिकताको रक्षा गर्न सरकारसहित सम्पूर्ण सरोकारवाला पक्षलाई दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com