काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेकपा एमालेले उम्मेदवारी नदिने भएको छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सोमबार पत्रकारसँग कुरा गर्दै उक्त पदमा एमालेले दाबी नगर्ने स्पष्ट पारे। “संसद् सचिवालयले आजै निर्वाचनका लागि सूचना जारी गर्दैछ, तर यसपटक एमालेले उम्मेदवारी दर्ता गर्ने छैन,” बर्तौलाले भने।
उनका अनुसार यसअघि जस्तै अहिले पनि समितिको सभापति नेपाली कांग्रेसकै रोजाइ हुने अपेक्षा छ। पहिलो प्राथमिकता कांग्रेसकै हुनेछ। कांग्रेसले उम्मेदवारी नदिए मात्र हामी पार्टीभित्र छलफल गर्छौं। कांग्रेसले उम्मेदवार दिए हामी समर्थन गर्छौं । बर्तौलाले बताएका छन्।
सङ्घीय निजामती सेवा विधेयकमा विवाद उत्पन्न भएपछि तत्कालीन सभापति रामहरि खतिवडाले साउन २८ गते पदबाट राजीनामा दिएका थिए। समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने कानुनी व्यवस्था अनुसार भदौ ११ गतेभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेछ।
यसअघि भागबन्डाअनुसार कांग्रेसकै भागमा परेको समितिको सभापति पद यसपटक पनि कांग्रेसले नै पाउने सम्भावना प्रबल देखिएको छ। कांग्रेसले आन्तरिक छलफलमार्फत उम्मेदवार टुंग्याउने तयारी गरिरहेको बताइएको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम १७६ बमोजिम सभामुखले तोकेको मितिमा समितिको सभापतिको निर्वाचन हुने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया