काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्माणलाई सुदृढ बनाउन नयाँ संकल्पसहित अघि बढ्नुपर्ने बताएका छन्।
पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै खनालले समाजवादी आन्दोलनलाई ठोस कार्यदिशा, नीति र सिद्धान्तमा आधारित बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “हामी अहिले पुँजीवादी समाजमा छौँ, यसलाई ध्वस्त पारेर समाजवाद निर्माण गर्नुपर्छ। त्यसका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाबारे स्पष्ट छलफल र लक्ष्य निर्धारण गर्नुपर्छ।”
उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै १०औँ महाधिवेशनले पारित गरेको दस्तावेज अझै सार्वजनिक नगरिएको विषयमा प्रश्न उठाए। “नेपाली समाजवादको कार्यक्रम अघि सारेका छौँ, तर प्रकाशित भएको छैन। यो कमजोरी हो, तत्काल सार्वजनिक गर्नुपर्छ,” खनालले भने।
मार्क्सवादलाई नेपाली समाजवादका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै खनालले पार्टीको मुख्य अन्तर्विरोधलाई किटान गरेर प्रहार नगरेसम्म आन्दोलन सफल नहुने बताए।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया