काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले श्रीमानलाई जमानतमा रिहा गरी थुनाबाहिरबाटै मुद्दा लड्न दिने व्यवस्था मिलाउन आग्रह गरेकी छन्।

जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको निर्णयविरुद्ध सोमबार उच्च अदालत बुटवलमा पुनरावेदन दायर गरेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो आग्रह सार्वजनिक गरेकी हुन्।

advertisement

पौडेलले लेखेकी छन्, “बिगो तोकेर त्यसको बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न दिनुपर्छ, मेरो माग यत्तिमात्र हो।”

भैरहवा कारागारमा लामिछानेलाई राखिएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले श्रीमानको जीवन सुरक्षाबारे गम्भीर शंका रहेको बताइन्। “मैले हिजो पनि भनेकी हुँ, आज पनि दोहोर्याउँछु— मेरो श्रीमानको जीवन सुरक्षित छैन। भैरहवा कारागारमा उहाँलाई जसरी राखिएको थियो, त्यो सबैलाई थाहा छ,” पौडेलले लेखेकी छन्।

उनले लामिछानेलाई सत्ता र शक्तिको दुरुपयोग गर्दै झुटा मुद्दामा फसाइएको र संसदमै प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले धम्की दिएको आरोप समेत लगाइन्।

न्यायको खोजीमा आफू संविधान र कानुनले दिएको अधिकार प्रयोग गरेर देशभित्र वा बाहिरका हरेक ढोका ढकढक्याउन तयार रहेको पनि उनले प्रष्ट पारेकी छन्।

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सोही फैसलाविरुद्ध पौडेलले उच्च अदालत बुटवलमा पुनरावेदन दर्ता गरेकी हुन्।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com