झापा । जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ ।

नागरिकतामध्ये वंशजका आधारमा लिनेहरू एक हजार २३० जना छन् भने वैवाहिक अङ्गीकृत ५५ जनाले र गैरआवासीय नागरिकता चार जनाले लिएको निरौलाले बताउनुभयो । गत एक वर्षको तथ्याङ्कले समेत नागरिकताको तुलनामा राहदानी लिनेहरू धेरै रहेको देखाउँछ । आर्थिक वर्ष २०८१÷८२ मा झापामा २२ हजार ७७७ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको थियो ।

advertisement

सोही आवमा झापाबाट राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या ३३ हजार २२४ पुगेको सहायक प्रजिअ निरौलाले जानकारी दिए । गत वर्ष नागरिकताको तुलनामा राहदानी लिनेहरू १० हजार ४४७ ले बढी थिए । उक्त आवमा बंशजको आधारमा २२ हजार ४० जनाले, वैवाहिक अङ्गीकृतको आधारमा छ सय ७५ जनाले र गैरआवासीयको आधारमा ६२ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएको पाइएको छ ।

नागरिकता र राहदानीको तुलनामा राष्ट्रिय परिचयपत्रको कार्ड लिनेहरू अझ धेरै छन् । साउनमा झापामा पाँच हजार ७६७ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको छ । साउन मसान्तसम्म झापामा तीन लाख ६० हजार ७७२ जनाले राष्ट्रिय परिचयपत्रको कार्ड लिइसकेको सहायक प्रजिअ निरौलाको भनाइ छ ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com