काठमाडौँ । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन पर्ने यो पर्वमा महिलाहरूले निराहार व्रत बस्दै भगवान् शिव र पार्वतीको पूजा आराधना गर्ने परम्परा छ। परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वासका कारण महिलाहरू बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा पूजा अर्चनाका लागि भिडिएका छन्।
धार्मिक कथाअनुसार सत्य युगमा यसै दिन निराहार व्रत बसेर पार्वतीले शिवलाई वर प्राप्त गरेकी थिइन्। त्यसैले यो दिन विधिपूर्वक व्रत बस्नेहरूले मनोकामना पूरा हुने विश्वास गरिन्छ।
तीज पर्वलाई महिलाहरूले सामाजिक र सांस्कृतिक उत्सवका रूपमा पनि मनाउँछन्। यस अवसरमा उनीहरूले गीत गाएर वर्षभरिका पीडा र मर्का प्रकट गर्ने, नाचगान गरी उल्लास प्रकट गर्ने चलन छ।
बिहीबार दर खाने परम्परासँगै शुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजापाठ र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समापन हुने परम्परा छ।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार












प्रतिक्रिया