काठमाडाैं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर नजिकै घर भाडामा लिएर धर्म प्रचार गतिविधि सञ्चालन गर्दै आएका अमेरिकी नागरिक डानियल एस. कोरनीलाई अध्यागमन विभागले पक्राउ गरेको छ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार सोमबार राति विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो। कोरनीले पाँच तले घरको माथिल्लो तलामा बसोबास गर्दै तल्लो तलामा बालगृह सञ्चालन गरेका थिए। त्यहीँबाट उनले इसाई धर्म प्रचार गर्दै आएको विभागको दाबी छ।

advertisement

सन् २०१५ देखि नेपाल आउजाउ गर्दै आएका कोरनी पछिल्ला दिनमा लगनखेल बसपार्कलगायत स्थानमा खुलेआम बाइबल पढेर धर्म प्रचार गरिरहेको विभागले जनाएको छ। त्यसको प्रमाणस्वरूप भेटिएको भिडियोका आधारमा उनलाई पक्राउ गरिएको हो।

विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार कोरनी सुरुमा पर्यटक भिसामा नेपाल आएका थिए तर पछि व्यवसायिक, अध्ययनलगायत विभिन्न भिसामा रूपान्तरण गरी बस्दै आएका थिए। “भैंसेपाटीमै उनले बालगृह र छापाखाना सञ्चालन गरेको पाइयो,” ढकालले बताए।

कोरनीले सञ्चालन गरेको बालगृहमा मुगु लगायत विभिन्न जिल्लाबाट ल्याइएका २० बालबालिका रहेका र उनीहरूलाई समेत धर्म प्रचारका लागि प्रयोग गरेको प्रमाण फेला परेको विभागको भनाइ छ। पर्चा बाँड्ने, पोस्टर टाँस्ने जस्ता गतिविधिमा समेत उनी संलग्न रहेको बताइएको छ।

विभागले कोरनीसँगै अन्य दुई अमेरिकी नागरिक पनि यस्तै गतिविधिमा संलग्न रहेको तथ्य भेटिएको र उनीहरूको खोजी भइरहेको जनाएको छ। पक्राउ परेका कोरनीमाथि थप अनुसन्धान भइरहेको र आवश्यक परेमा नेपाल फर्किन नपाउने गरी डिपोर्ट गरिने महानिर्देशक तिवारीले जानकारी दिएका छन्।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com