काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको विस्तृत कार्यतालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रमणको मिति, उद्देश्य र कार्यक्रमसम्बन्धी जानकारी दिएको हो।
मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली आगामी भदौ १४ देखि १८ गतेसम्म चीनको औपचारिक भ्रमणमा रहनेछन्। उक्त अवसरमा उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङ, उपराष्ट्रपति हान झेङसहित उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्ने तय भएको छ। यस्तै उनले ‘एससीओ प्लस’ शिखर सम्मेलनलाई सम्बोधन गर्ने र विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी समेत गरिएको छ।
प्रधानमन्त्री ओलीसँग भ्रमण टोलीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मालगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार












प्रतिक्रिया