काठमाडौं । रूसले बिहीबार युक्रेनमाथि व्यापक हवाई आक्रमण गरेको छ। बीबीसीका अनुसार, रूसी सेनाले ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्र प्रहार गर्दा ४ बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।
यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको भेटवार्ताको मात्र १३ दिनपछि भएको हो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिक्रिया दिँदै भने, “रूसले शान्ति होइन, मिसाइल रोजेको छ।”
आक्रमणका कारण कीभस्थित ब्रिटिश काउन्सिल कार्यालय र युरोपेली संघ मिसनका भवनहरू क्षतिग्रस्त भएका छन्। ब्रिटिश सम्पत्तिमा यसरी क्षति भएको यो पहिलोपटक हो। यस घटनापछि बेलायत र युरोपेली संघले रूसी राजदूतहरूसँग स्पष्टीकरण सोध्दै कडा चेतावनी दिएका छन्। ह्वाइट हाउसले भने वार्ता प्रक्रिया भने निरन्तर जारी रहने जनाएको छ।
भारतलाई चेतावनी
युद्ध चर्किँदै जाँदा अमेरिकी सांसद लिन्डसे ग्राहामले भारतलगायत केही मुलुकलाई कठोर आलोचना गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भारत, चीन, ब्राजिल र अन्य देशहरूले रसियाबाट सस्तो तेल किन्दै पुटिनको युद्धलाई बल दिइरहेको आरोप लगाए।
उनले भने, “तपाईंहरूको खरिदका कारण निर्दोष मानिसहरू, बालबालिकासहित, मारिँदै छन्। भारतले पुटिनलाई समर्थन गर्ने मूल्य तिरेको छ, अब बाँकी देशहरूको पालो पनि आउनेछ।”
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया