काठमाडौं । सुदूरपश्चिमलाई पर्यटकीय दृष्टिले ‘भर्जिन ल्याण्ड’ भएको बताउँदै सरकार र सरोकारवालाले लगानीकर्तालाई आकर्षित गर्न आह्वान गरेका छन्।

सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको सहकार्यमा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिममा नेचर, कल्चर र एडभेन्चर को संयोजन रहेको भन्दै पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरे।

advertisement

मन्त्री पाण्डेले निजी क्षेत्रको सहभागिता, कानुनी उल्झन समाधान र लगानीमैत्री नीति बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यस वर्ष सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको जानकारी दिए।

त्यसैगरी मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम सरकार निजी लगानीलाई स्वागत गर्न आतुर रहेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सम्मेलनमार्फत सम्भावनाहरू उजागर गर्ने बताए। “हामी स्वदेशी निजी क्षेत्रलाई आवश्यक कानुनी सुरक्षासहित लगानीको ग्यारेन्टी दिन तयार छौं,” उनले भने।

कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, नाटाका सीईओ युविका राज भण्डारीलगायत सरोकारवालाले सुदूरपश्चिममा लगानी सम्भावना देखिएको तर सरकारले स्पष्ट क्षेत्र पहिचान र नीतिगत सहजीकरण गर्नुपर्ने सुझाव दिए।

सरकारले हालै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालहरूको आरोहण दुई वर्षका लागि निःशुल्क गरेको छ। साथै धनगढी विमानस्थलको स्तरोन्नति र कञ्चनपुर विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ।

सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आगामी मंसिर १ र २ गते धनगढीमा आयोजना हुने तय भएको छ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com