काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनभित्र अधिनायकवादी प्रवृत्ति गहिरिँदै गएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौंले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एमालेभित्र कार्यकर्ताहरू निराश र पीडित बनेर हिँडिरहेको दाबी गरे । “त्यहाँ बस्ने मान्छे गहभरी आँसु बोकेर कहाँ पोख्ने भन्ने ठाउँ खोज्दै हिंडिरहेका छन्,” अध्यक्ष नेपालले व्यंग्यात्मक शैलीमा भने ।

advertisement

उनका अनुसार, एमालेभित्र देखिएको अवस्था कार्यकर्ताले दिनदिनै भोगिरहेको र आफूहरू बाहिरबाट तमासा हेरेर बस्नुपरेको स्थिति बनेको छ । उनले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीले ऐतिहासिक बहुमत पाए पनि संविधान संशोधन र कानुन निर्माणमा तीव्रता दिन नसक्नुको मुख्य जिम्मेवार ओली नै भएको आरोप लगाए ।

अध्यक्ष नेपालले ओली नेतृत्वलाई पूर्व सहकर्मीहरूमाथि प्रतिशोधी मानसिकतामा क्रियाशील रहेको आरोप समेत लगाए । “अब प्रभु साह र उपेन्द्र यादवमाथि बदला लिने पालो आएको छ,” उनले चेतावनी दिँदै भने, “यो क्रम यत्तिमै रोकिँदैन, प्रचण्डमाथि पनि बदला सुरू हुनेछ, अन्ततः कोही बाँकी रहँदैन ।”

उनले पार्टी कार्यकर्तालाई समाज रूपान्तरणलाई पहिलो जिम्मेवारी मान्नुपर्नेमा जोड दिए । “समाज अनेकौं जटिलताले भरिएको छ । त्यसलाई बुझ्नुपर्छ, समाधान गर्न आँट गर्नुपर्छ । सफलताको बाटो त्यही हो,” अध्यक्ष नेपालको भनाइ थियो ।

उनले हाल कम्युनिष्ट आन्दोलनमा देखिएको अधिनायकवादले गम्भीर चुनौती खडा गरेको उल्लेख गर्दै कार्यकर्तालाई सचेत रहन आह्वान गरे ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com