काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले बदला लिने राजनीति सुरू गरेको आरोप लगाउँदै अब कोही पनि त्यसबाट अछुतो नबस्ने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा पार्टीको ७ नम्बर क्षेत्रीय कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र आम जनता पार्टीका अध्यक्ष प्रभु शाहमाथि बदला लिने प्रक्रिया भइसकेको उल्लेख गर्दै अब सो क्रम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म पुग्ने चेतावनी दिए ।
उनले भने, “उपेन्द्र यादव र प्रभु शाहमाथि बदला शुरु भइसकेको छ, अब यो प्रचण्डमाथि पुग्नेछ । अन्ततः कोही बाँकी रहने छैन ।”
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनभित्र अधिनायकवादी प्रवृत्ति मौलाउँदै गएको आरोप लगाए । एमालेभित्र कार्यकर्ताहरू निराश हुँदै आँसु कहाँ पोख्ने भन्ने खोजीमा रहेको टिप्पणी गर्दै उनले भने, “त्यहाँका मान्छे गहभरी आँसु बोकेर कहाँ पोख्ने भनेर हिँडिरहेका छन् । दिनदिनै उनीहरूले सहनुपर्ने अवस्था छ, हामी पनि टाढाबाट तमासा हेर्न बाध्य छौं ।”
अध्यक्ष नेपालले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीले ऐतिहासिक बहुमत प्राप्त गरे पनि संविधान संशोधन र कानुन निर्माणमा कुनै प्रगति गर्न नसक्नुको मुख्य जिम्मेवार ओली रहेको आरोप लगाए ।
उनले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन कार्यकर्ताले समाज रूपान्तरणलाई पहिलो दायित्व मान्नुपर्नेमा जोड दिँदै जटिल समस्या समाधानका लागि साहसिक कदम चाल्न आग्रह पनि गरे ।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया