काठमाडाैं । वीरगञ्जमा फैलिएको हैजाको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्न गृहमन्त्री रमेश लेखक शनिबार चिकित्सकहरूको टोलीसहित त्यहाँ जाने भएका छन्।

गृहमन्त्रीको सचिवालयका अनुसार उनले हैजाबाट प्रभावित बिरामीहरूको स्वास्थ्य स्थिति बुझ्ने, आवश्यक तयारी तथा नियन्त्रण उपायबारे सरोकारवाला निकायसँग छलफल र समन्वय गर्ने कार्यक्रम तय भएको छ। आइतबार बिहान उनी नारायणी अस्पताल पुगेर उपचाररत बिरामी, अस्पताल प्रशासन र जिल्ला सुरक्षा समितिसँग पनि भेट गर्नेछन्।

advertisement

पछिल्लो समय वीरगञ्जमा हैजा व्यापक भए पनि यसको मूल स्रोत भने अझै पत्ता लाग्न सकेको छैन। यसबीच, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका चिकित्सकहरूको टोलीलाई पनि प्रभावित क्षेत्रमा उपचार र सहजीकरणका लागि खटाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गत भदौ ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले हैजा नियन्त्रण र बिरामीको उपचारका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको थियो। सो क्रममा उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका थिए।

यसअघि, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हैजाप्रभावित क्षेत्रमा तीनै तहका सुरक्षा निकायका स्वास्थ्यकर्मी परिचालन गरिने घोषणा गरेका थिए।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com