काठमाडाैं । चाडबाड नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ।

धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरी कामपाले २ लाख रुपैयाँ जरिवाना तिराएको छ। सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा फेला परेपछि कामपाले कारबाहीस्वरूप जरिवाना तिराएको कामपाको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए।

advertisement

प्रमुख न्यौपानेका अनुसार उपभोक्ताले गरेका गुनासोको आधारमा कामपाले अनुगमन गरेको थियो। विभागले उक्त मदिराको नमूना संकलन गरी जाँच गरेको थियो। जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य वस्तु फेला परेको पुष्टि भएपछि कामपाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अनुसार कारबाही र जरिवाना गरिएको हो।

विभागका अनुसार, जरिवाना रकम कामपाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ। कामपाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको समेत जनाएको छ।

कामपाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। त्यस्तै वसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन गर्दा ३१ लिटर अखाद्य तेल नष्ट गरेको छ।

कामपाले वडा नम्बर २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको चार रेस्टुराँ र एक मिठाई पसलको अनुगमन गर्दा अखाद्य तेल भेटेपछि नष्ट गरेको हो। टोलीले व्यवसायीलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न निर्देशन समेत दिएको छ।

विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ साथै, सबै व्यवसायीहरूलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न जिम्मेवार हुन निर्देशन समेत दिएको छ।

  • रासस

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com