काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगर प्रहरीको कामले कहिलेकाहीँ सिनेमा हेरेजस्तो अनुभव दिलाउने बताएका छन्।
शनिबार राजधानीमा आयोजित ३३ औँ महानगर प्रहरी दिवस कार्यक्रममा बोल्दै उनले बाल्यकालमा हेरेका हलिउड चलचित्रमा सिटी प्रहरीले गरेको काम अहिले काठमाडौँ महानगर प्रहरीमार्फत वास्तविकतामा देख्न पाउँदा खुसी लागेको बताए।
उनका अनुसार सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउने, सुशासन कायम गर्ने र अनुगमन गर्ने जस्ता क्षेत्रमा महानगर प्रहरीले महत्त्वपूर्ण योगदान पुर्याएको छ।
मेयर बालेन्द्रले भने, “धेरै पालिकाहरू काठमाडौँ महानगरको कार्यशैली सिक्न इच्छुक छन्। त्यस सिकाइमा महानगर प्रहरीको ठूलो भूमिका छ। तपाईँहरूको कर्मनिष्ठा र योगदानले केवल काठमाडौँ महानगरलाई मात्र होइन, देशभरका स्थानीय सरकार र सिटी प्रहरीलाई समेत प्रेरणा दिएको छ।”
उनले काठमाडौँ महानगर प्रहरीलाई राजधानीको एक महत्वपूर्ण पहिचानको रूपमा स्थापित भएको उल्लेख गर्दै, आगामी दिनमा पनि यस संस्थाले अन्य सिटी प्रहरी र स्थानीय सरकारका लागि सिकाइको उदाहरण बन्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार












प्रतिक्रिया