काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लगानीकर्ता मैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित हिन्दु इकोनोमी फोरमसँगको अन्तर्क्रियामा मुख्यमन्त्री शाहले स्वदेशी र विदेशी सबै लगानीकर्तालाई सुदूरपश्चिममा स्वागत गरिने बताए। “सुदूरपश्चिममा लगानीकर्तालाई स्वागत गर्न हामी आतुर छौँ। हामी लगानीमैत्री वातावरण बनाउँछौँ, तपाईंहरू निर्धक्क भएर लगानी गर्नुहोस्,” उनले भने।

advertisement

मुख्यमन्त्री शाहले सुदूरपश्चिमको सम्भावना उजागर गर्न आग्रह गर्दै, त्यहाँ समस्या मात्र नभएर अवसरहरू धेरै रहेको बताए। उनले भारत भ्रमणको अनुभव साझा गर्दै भारतीय मुख्यमन्त्रीहरूसँग सुदूरपश्चिममा लगानी ल्याउने विषयमा छलफल भएको र यस सम्मेलनमा भारतबाट पनि लगानी आउने अपेक्षा व्यक्त गरे।

अन्तर्क्रिया कार्यक्रममा फोरमका प्रतिनिधिहरूले सुदूरपश्चिमको धार्मिक पर्यटनमा लगानी भित्र्याउन भूमिका खेल्न मुख्यमन्त्री शाहसहितको टोलीलाई अनुरोध गरे। “हामी विश्वभरका हिन्दुहरू मार्फत नेपालमा लगानी ल्याउने विषयमा छलफल गरिरहेका छौँ,” संयोजक सुरज बैद्यले बताए।

बैद्यले सुदूरपश्चिममा नीति कारणले लगानीमा समस्या रहेको बताए र लगानीमैत्री नीतिसहित विशेष क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीकर्तालाई आह्वान गर्न सुझाव दिए।

पूर्व राजदूत तथा फोरमका महासचिव महेश दाहालले पनि विश्वका हिन्दुहरूको चासो नेपालमा रहेको उल्लेख गर्दै धार्मिक पर्यटन प्रवर्द्धन र लगानी बढाउने पक्षमा जोड दिए।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले सुदूरपश्चिमको पर्याप्त सम्भावना भएको भन्दै नीति क्षेत्रमा सुधार गरी लगानीकर्तालाई उत्साहित बनाउनुपर्ने बताए।

पूर्व गभर्नर चिरञ्जीवी नेपालले पनि सुदूरपश्चिमको विकास र लगानीमा ध्यान दिनुपर्ने उल्लेख गर्दै भारत र चीनलाई ट्रान्जिटको रूपमा प्रयोग गरी लगानी भित्र्याउन पहल गर्नुपर्ने बताए। उनले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्तासम्म मात्र पुग्दा पनि प्रदेशको लगानी सम्मेलन सफल हुने दाबी गरे।

छलफलमा नीति तथा प्रदेश योजना आयोगका सदस्य नृप सुनारले सुदूरपश्चिमको सम्भावना र अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे भने परियोजना विज्ञ दिलीप भट्टले मंसिर १–२ गते हुने लगानी तथा विकास सम्मेलनको तयारी र प्राविधिक पक्षबारे जानकारी दिए।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com