काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई केवल परिवारको हिस्सा मात्र नभई सम्पूर्ण समाज परिवर्तनको आधारका रूपमा स्वीकार गर्नुपर्ने धारणा राखेकी छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको वृहत् महिला सम्मेलन–२०८२ को उद्घाटन गर्दै उनले महिलाहरूको भूमिका परिवार निर्माणदेखि उद्योग, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणसम्म अग्रपंक्तिमा रहेको बताए पनि अझै अपेक्षित सम्मान र अवसर नपाएको उल्लेख गरिन्।
“महिलाहरू नेतृत्व लिन, उद्यम सञ्चालन गर्न र समाज रूपान्तरणमा योगदान दिन पूर्ण रूपमा सक्षम छन् भन्ने वातावरण हामीले बनाउनुपर्छ,” भण्डारीले भनिन्। वीरगञ्जजस्तो व्यापारिक केन्द्रमा महिलाको सक्रियताले व्यक्तिगत मात्र होइन, राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन ठूलो योगदान पुर्याइरहेको उनले प्रशंसा गरिन्।
उनले महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्तालाई प्रेरणा दिने गरी अघि बढ्न आग्रह गरिन्। साथै, अझै विद्यमान लैंगिक असमानता, पूर्वाग्रह र अवरोध तोड्न महिलाहरू आत्मविश्वासका साथ नेतृत्वमा उत्रिनुपर्ने उनले उल्लेख गरिन्।
कार्यक्रममा पर्सा र बाराका उद्योग, व्यापार, शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय महिलाहरूलाई सम्मान गरिएको थियो।
प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार












प्रतिक्रिया