काठमाडौं ।  खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई अर्पण गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका दुई सय तीनवटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित भएकामा ती कृतिमध्ये पुरस्कार चयन समितिको सिफारिसअनुसार ‘छालबाटो’लाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

advertisement

प्रतिष्ठाने आज एक विज्ञप्ति जारी गरी स्रष्टा भुसालको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत जीवन्त रूपमा समेटेको जनाएको छ ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

प्रत्येक वर्ष नेपाली साहित्य, सङ्गीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको पनि आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्यलगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।

त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा डा अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा डा सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उनि साहित्य सृजना तथा समसामयिक लेखनमा सक्रिय छन् ।

यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने अध्यक्ष लामिछानेले बताए।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com