काठमाडाैं । सात वर्षपछि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। दुई नेताबीच करिब ५० मिनेट लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले गत वर्ष कजानमा भएको छलफललाई स्मरण गर्दै त्यसले दुई देशबीचको सम्बन्धमा सकारात्मक सुधार ल्याएको बताए। उनले भने,
“सीमाबाट सेना फिर्ता भएपछि शान्ति र स्थिरताको वातावरण बनेको छ। विशेष प्रतिनिधिहरू सीमा मुद्दामा सहमतिमा पुगेका छन्। कैलाश–मानसरोवर यात्रा पुनः सुरु भएको छ र भारत–चीनबीच सीधा हवाई उडानहरू पनि फेरि सञ्चालनमा आएका छन्।”

advertisement

मोदीका अनुसार भारत र चीनबीचको सहकार्यले २.८ अर्ब जनतालाई प्रत्यक्ष फाइदा पुग्ने मात्र होइन, सम्पूर्ण मानवताको हितमा मार्गदर्शन गर्नेछ।

राष्ट्रपति सी जिनपिङले पनि प्रधानमन्त्री मोदीलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्दै भारत–चीनले सहकार्य र समझदारीका आधारमा अघि बढ्नुपर्ने बताए।

भेटवार्तापछि दुवै नेताले पारस्परिक विश्वास र सम्मानमा आधारित सम्बन्धलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

जापानको दुई दिने भ्रमण सकेर मोदी शनिबार साँझ चीन पुगेका थिए। सन् २०२० मा गलवानमा भएको झडपपछि चिसिएको भारत–चीन सम्बन्धलाई पुनः सुधार गर्ने यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

मोदी आज तियानजिनमा सुरु हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेछन्। चीनमा आयोजना हुन लागेको यस पटकको एससीओ शिखर सम्मेलनलाई इतिहासकै सबैभन्दा ठूलो मानिएको छ, जसमा २० भन्दा बढी देशका नेताहरू उपस्थित हुनेछन्।

प्रधानमन्त्री मोदीले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com