काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), ललितपुर–३ ले हाल लागू गरिएको इम्बोस्ड नम्बर प्रणालीको कडा विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार यातायात व्यवस्था कार्यालय पुगेका राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाले विरोधसहित ज्ञापनपत्र बुझाएको जानकारी दिए।
ज्ञापनपत्रमा पार्टीले इम्बोस्ड नम्बर प्रणालीले सर्वसाधारणमा असन्तोष, अन्योलता, अनावश्यक झन्झट, समय र अतिरिक्त खर्चको भार बढाएको उल्लेख गरेको छ। साथै यसले विभिन्न निकायमा दुरुपयोग र भ्रष्टाचारको संभावना बढाएको, संविधानले सुनिश्चित गरेको समान अवसर र न्यायपूर्ण व्यवहारमा बाधा पुगेको दाबी गरिएको छ।
राप्रपाले सरकारसँग छिटो यस प्रणाली खारेज गर्न, सहज, नागरिकमैत्री र पारदर्शी प्रक्रिया अपनाउन तथा भविष्यमा यस्ता निर्णय लिनुअघि जनसरोकारवालासँग पर्याप्त छलफल गर्ने माग गरेको छ।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार












प्रतिक्रिया