काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन अन्तिम चरणमा पुगेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा बोल्दै मन्त्री गुरुङले उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने जानकारी दिए।
उनका अनुसार डिजिटल नेपाल नीतिअन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापनसहित आठ प्रमुख क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोग गर्ने तयारी भइरहेको छ।
मन्त्री गुरुङले कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोगलाई तीव्र बनाउन पाँचौँ पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) अपरिहार्य भएको उल्लेख गर्दै आगामी माघ महिनाभित्र काठमाडौँ र पोखरामा फाइभजी परीक्षण सुरु गर्ने योजना सरकारको रहेको बताए। उनले आगामी वर्षभित्र फाइभजी विस्तार कार्य सम्पन्न गर्ने लक्ष्यसमेत दोहोर्याए।
सातै प्रदेशमा आइटी डाटा सेन्टर र एआई केन्द्र स्थापना गर्ने तयारी सरकारले थालेको उल्लेख गर्दै उनले एआई प्रयोग इन्टरनेटको गुणस्तर र पहुँचसँग प्रत्यक्षरूपमा जोडिने भएकाले फाइभजीलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।
बैंकिङ क्षेत्रमा बढिरहेका ठगी प्रकरणबारे पनि उनले टिप्पणी गर्दै, त्यसलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था बनाउन सरकारले प्रक्रिया अघि बढाइरहेको जानकारी दिए।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार













प्रतिक्रिया