काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आगामी अक्टोबरमा दक्षिण कोरिया प्रस्थान गर्ने भएका छन्। ‘उज्यालो संवाद’ अन्तर्राष्ट्रिय श्रृंखलाको निरन्तरतामा गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आमन्त्रणमा उनी सउल पुग्ने तय भएको संघका अध्यक्ष विपिन कुमार गुरुङले जानकारी दिए।
सउलमा अक्टोबर ४ मा आयोजना हुने कार्यक्रममा “नेपालमा जलविद्युत तथा हाइड्रो क्षेत्रमा प्रवासी नेपालीहरूको लगानी : सम्भावना र चुनौती” शीर्षकमा विशेष सम्मेलनसमेत हुनेछ। उक्त सम्मेलनमा कोरियाली लगानीकर्ता, व्यवसायी, प्राध्यापक, इन्जिनियर र नेपाली समुदायका प्रतिनिधिहरूलाई सहभागी गराउने तयारी भइरहेको गुरुङले बताए।
नेपाल विद्युत प्राधिकरणको नेतृत्वसमयदेखि नै उर्जा क्षेत्रमा उल्लेखनीय सुधार ल्याएर चर्चित बनेका घिसिङले आफ्ना अनुभवहरू साझा गर्दै नेपालमा जलविद्युत लगानीका अवसर, चुनौती र सम्भावनाबारे विस्तृत धारणा राख्ने अपेक्षा गरिएको छ।
एनआरएनए दक्षिण कोरियाका महासचिव अजय सोडारीका अनुसार, त्यहाँ रहेका नेपाली समुदाय पनि जलविद्युत क्षेत्रमा कुनै न कुनै किसिमले संलग्न हुन इच्छुक छन् भने कोरियाली लगानीकर्ताहरूले समेत नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्ने चासो देखाएका छन्।
यसअघि घिसिङले अमेरिका, युरोपसहित विभिन्न मुलुक भ्रमण गरी अनुभव साटासाट गरिसकेका छन्। हाल उनी सक्रिय राजनीतिको तयारीसँगै अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया