थियान्जिन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि भइरहेको युद्धको मुख्य कारण पश्चिमी राष्ट्रहरूको लामो समयदेखिको उक्साहट भएको दाबी गरेका छन्।
सोमबार चीनको थियान्जिनमा सम्पन्न साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सम्बोधन गर्दै उनले नेटो र अन्य पश्चिमी देशहरूले यस क्षेत्रमा अस्थिरता सृजना गरेको आरोप लगाए। पुटिनले रूसमाथि युद्ध सुरु गरेको आरोप अस्वीकार गर्दै भने, ‘यो सङ्कट रुसको आक्रमणबाट सुरु भएको होइन, बरु युक्रेनमा भएको कू र त्यसमा पश्चिमी राष्ट्रहरूले गरेको समर्थनको प्रतिफल हो।’
उनले सन् २०१३–१४ मा युक्रेनका तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्युत गर्ने युरोप समर्थित विद्रोहको उदाहरण दिँदै, त्यसपछि क्राइमियालाई रूसले आफ्नो भूभागमा समेटेको र पूर्वी युक्रेनमा पृथकतावादीहरूलाई समर्थन गरेको बताए। यसले हजारौँको ज्यान लिएको र ठुलो क्षेत्र ध्वस्त पारेको पुटिनको दाबी छ।
सन् २०२२ मा सुरु भएको रूसको पूर्णस्तरको आक्रमणले युद्धलाई थप गहिरो बनाएको थियो, जसपछि अमेरिका र युरोपेली सङ्घले रूसमाथि कडा प्रतिबन्ध लगाएका छन्। पुटिनले भने, ‘युद्धको दीर्घकालीन समाधानका लागि युक्रेनको नेटो सदस्यतामा पश्चिमी राष्ट्रहरूको प्रयासलाई ध्यानमा राख्नुपर्छ र रूसको सुरक्षा चिन्ता सम्बोधन हुनुपर्छ।’
राष्ट्रपतिले अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता शान्ति स्थापना दिशामा ‘महत्त्वपूर्ण कदम’ भएको उल्लेख गरे। उनले बेइजिङ र नयाँ दिल्लीको कूटनीतिक पहलको प्रशंसा गर्दै, यी प्रस्तावहरूले युक्रेनी सङ्कटको समाधान सहज बनाउन सक्ने बताए।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया