थियान्जिन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धको जिम्मेवारी पश्चिमा राष्ट्रहरूलाई दिँदै मस्कोको आक्रमण पश्चिमी उक्साहटको नतिजा भएको दाबी गरेका छन्।
चिनियाँ सहर थियान्जिनमा सोमबार सम्पन्न साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले नेटोले क्षेत्रीय अस्थिरता बढाएको आरोप लगाए। उनले रुसले युद्ध सुरु गरेको भन्ने धारणा अस्वीकार गर्दै यसको जरो २०१३–१४ मा भएको युरोप-समर्थित युक्रेनी विद्रोहमा रहेको स्पष्ट गरे।
उनका अनुसार, तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिचलाई पदच्युत गर्ने आन्दोलनलाई पश्चिमी राष्ट्रहरूले समर्थन गरेका कारण नै संकट चर्किएको हो। त्यसको प्रतिक्रियामा रुसले क्राइमिया आफ्नो भूभागमा गाभेको र पूर्वी युक्रेनका पृथकतावादीलाई सहयोग पुर्याएको पुटिनको तर्क थियो।
सन् २०२२ को पूर्णस्तरीय आक्रमणपछि युद्ध अझ गहिरिँदा अमेरिका र युरोपेली सङ्घले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्। प्रतिबन्धका कारण पश्चिमबाट एक्लिए पनि रुस अन्य अन्तर्राष्ट्रिय साझेदारसँग सक्रिय रहेको पुटिनले दाबी गरे।
उनले युक्रेनलाई नेटोमा समावेश गर्ने प्रयासलाई युद्धको मूल कारण भन्दै शान्ति सम्झौताअघि रुसको सुरक्षा चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। “समाधान दीर्घकालीन हुनका लागि संकटको मूल कारण सम्बोधन अपरिहार्य छ,” पुटिनले भने।
यसैबीच, उनले अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्तालाई ‘शान्तिको मार्ग खुलाउने पहल’ भन्दै व्याख्या गरे। साथै, चीन र भारतको कूटनीतिक प्रयासको प्रशंसा गर्दै यी देशहरूको पहलले युक्रेनी संकट समाधानमा योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरे। – एजेन्सी
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया