काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक छोडेर बाहिरिएकी छन्। मन्त्री न्यौपानेले आफ्नो प्रस्ताव पारित नहुने अवस्था देखेपछि बैठक त्याग गरेको बताइएको छ।
बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा चलिरहेको थियो। मन्त्री न्यौपानेले मुख्यसचिवको अवकाश उमेर विधेयक ऐन अनुसार नभई फरक समय लागू गर्ने प्रस्ताव राखेकी थिइन्। प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरण गरेको वर्ष अनुसार ५८ वर्षमा मुख्यसचिव अवकाश हुने प्रावधान पास गरेको भए पनि मन्त्री न्यौपानेले ५९ वर्षमा लागू हुने प्रावधान प्रस्ताव गरेकी थिइन्।
उनको प्रस्ताव नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन गरे पनि विपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले अस्वीकृत गरेपछि बैठक छोड्ने निर्णय भएको हो। समिति सभापति तुलसीकुमारी दाहालले मन्त्रीले समय मागेर बैठकबाट बाहिरिएको जानकारी दिइन्।
माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले प्रतिनिधि सभाले पास गरेको निर्णय उल्ट्याउन नमिल्ने बताउँदै भने, ‘सर्वसम्मत निर्णय उल्ट्याउन सरकार प्रस्ताव लिएर आउने र आफूमाथि नमानिए बैठक छोड्ने व्यवहार गलत हो।’
बैठकबाट बाहिरिए पनि अन्य सांसदहरू बैठकमै रहँदै निर्णय प्रक्रियालाई अघि बढाउने प्रयास गरिरहेका छन्।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार












प्रतिक्रिया