काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयका लागि अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धमा निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार जानकारी दिएका हुन्।
बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा ५८ दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतका आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि ८७ दरबन्दी स्वीकृत गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्, फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति र राष्ट्रिय एन्टीडोपिङ एजेन्सीलाई २१ दरबन्दी तोकिएको छ।
यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागमार्फत सञ्चालित भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमका लागि १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरिएको छ।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार












प्रतिक्रिया