काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एसियाली उपाध्यक्ष जोहानेस जुटबीच आज सहरी विकास मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा नेपाल सरकार र विश्व बैंकबीच नयाँ परियोजनामा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी बृहत्तर लुम्बिनी क्षेत्र विकास, काठमाडौँ उपत्यकामा सहरी पूर्वाधार निर्माण, फोहर व्यवस्थापन तथा नदी स्वच्छता जस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
जुटले दुई क्षेत्रमा केन्द्रित भएर योजना अघि बढाउने सरकारी प्रयास सराहनीय भएको उल्लेख गर्दै विश्व बैंक यसमा सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारे। उनले लुम्बिनी र काठमाडौँमा पूर्वाधार विकाससँगै वातावरणीय प्रदूषण न्यूनीकरण, नदी तथा वायु स्वच्छता सुधारजस्ता क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाए।
सो अवसरमा कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका आयोजनामा विश्व बैंकले दिएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी योजनामा समेत थप साझेदारी हुने विश्वास प्रकट गरे।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया