काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।
शिक्षक महासंघले सरकारसँग भएका विगतका सहमति पूर्ण रूपमा कार्यान्वयन नभएकाले विधेयक सच्याउन दवाव दिने उद्देश्यले काठमाडौंको बनस्थलीस्थित रास्वपा कार्यालय पुगेर धर्ना दिएको हो। सो क्रममा शिक्षकहरूले रास्वपालाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शिक्षकहरूको मागलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले शिक्षकका मुद्दा संसदसम्म उठाउने प्रतिबद्धता जनाउँदै, सरकारको बेवास्ताले शिक्षकहरूलाई राजनीतिक दलको कार्यालयसम्म धर्ना दिन बाध्य बनाएको टिप्पणी गरे।
महासंघले हाल संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकले शिक्षक तथा कर्मचारीका प्रमुख सरोकारलाई पर्याप्त रूपमा सम्बोधन नगरेको र विगतमा भएको सहमतिका थुप्रै विषय समेटिन नसकेका कारण आन्दोलनको बाटो रोजिएको स्पष्ट पारेको छ।
यसअघि महासंघले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयमा पनि धर्ना दिई ध्यानाकर्षण पत्र बुझाइसकेको छ।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया