काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताएका छन् ।

हुलाक सेवा विभागले आज आयोजना गरेको वार्षिक प्रगति समीक्षामा उनले हुलाकको व्यावसायिक सम्भावना ‘पार्सल डेलिभरी’ भएको बताउँदै विदेशमा रहेका नेपालीसम्म यो सेवा विस्तार गर्न श्रम सम्झौता भएका देशमा हुलाक पुग्नुपर्नेमा जोड दिए । पार्सल सेवालाई भरपर्दो बनाउन जरुरी भएको उनले बताए ।

advertisement

मन्त्री गुरुङले सबै पालिकालाई ‘डिजिटलाइजेसन’ गर्न र ‘स्मार्ट’ हुलाक कार्यालय सञ्चालन गर्न निर्देशन दिँदै उनले भने, “अब हुलाक स्मार्ट हुनुपर्छ, सूचना प्रविधिको अधिकतम उपयोग गरी समयअनुसार रुपान्तरण हुनुपर्छ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले हुलाक सेवालाई प्रभावकारी बनाउन विभागलाई आवश्यक पर्ने पूर्वाधार निर्माण एवं आवश्यकता अनुसार अन्य सहयोग गर्न आफू सधैँ सकारात्मक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाकको विगतको गौरवपूर्ण गाथालाई आत्मसात् गर्दै हुलाकलाई युगानुकूल बनाउन ऐन, कानुन परिमार्जन थालिएको बताए । हुलाकका प्रशासनिक एवं व्यवस्थापकीय व्यवधान हटाउन आफू सदैव तत्पर रहेको उनले बताए ।

विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक सेवालाई स्मार्ट बनाउन आफू लागिपरेको बताए ।

त्यस अवसरमा विभागका निर्देशक धव्रराज आचार्यले विभागको गतिविधिबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com