काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले विद्यालय शिक्षा विधेयकको विवादका कारण शिक्षकहरूले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।
मंगलबार नेपाल शिक्षक महासंघले रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीमा दिएको धर्ना कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले सरकारले शिक्षकहरूको मागलाई समयमै गम्भीरतापूर्वक सम्बोधन नगरेको बताउनुभयो। उनले भने, ‘सरकारले नेतृत्वदायी भूमिका निभाउन असफल भएपछि आज शिक्षकहरूले हरेक पार्टी कार्यालय धाउनुपर्ने स्थिति आइपरेको छ। यो जिम्मेवारी पूर्ण रूपमा सरकारको हो।’
बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टी शिक्षकहरूको जायज मागहरूप्रति सकारात्मक रहेको र समाधानका लागि संसददेखि समितिहरूसम्म निरन्तर छलफल गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। उनले थपे, ‘देशको सुशासन र समग्र विकासका लागि शिक्षकहरूको योगदान महत्वपूर्ण छ, तर राज्यले उनीहरूको सेवा, सुविधा र व्यावसायिक विकासमा पर्याप्त ध्यान दिएको छैन।’
महामन्त्रीले अघिल्लो लामो आन्दोलनपश्चात् सरकारले गरेका प्रतिबद्धता पूरा नगरेको, बीचमा शिक्षामन्त्री परिवर्तन जस्ता घटनाले विधेयक सही ढंगले अघि बढ्न नसकेको समेत उल्लेख गर्नुभयो।
नेपाल शिक्षक महासंघले प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू समावेश गरिनुपर्ने भन्दै दोस्रो चरणको आन्दोलन अन्तर्गत विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रम जारी राखेको छ। यसअघि महासंघले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको कार्यालयमा पनि धर्ना दिएको थियो।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया