काठमाडौं। हजारौँ नेपाली तथा तामाङ गीतमा स्वर दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको ५८ वर्षको उमेरमा निधन भएको छ।
बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा उनको निधन भएको तामाङ दाजाङका अध्यक्ष तथा गायक–गीतकार फूलकुमार तामाङले जानकारी दिए। गोले विगत दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन्। हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचारपछि उनी पछिल्ला दुई सातादेखि घरमै आराम गर्दै आएकी थिइन्।
ललितपुरको भर्देउमा सन् १९६६ अक्टोबर १९ मा जन्मिएकी गोलेले नेपाली लोक, आधुनिक र तामाङ गीतसंगीतमा विशिष्ट पहिचान बनाउन सफल भएकी थिइन्। रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गर्दै उनले गायन यात्राको सुरुवात गरेकी थिइन्।
उनको स्वरमा सजिएका चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेला जस्ता गीतहरू आज पनि लोकप्रिय छन्। उनले करिब पाँच हजारभन्दा बढी गीतमा आवाज दिएकी छिन्।
गोले तामाङ कलाकार समाजकी पूर्वअध्यक्ष समेत थिइन्। उनले तामाङ सेलोमार्फत मात्र नभई नेपाली लोक र आधुनिक गीतमार्फत पनि तामाङ संस्कृतिको संरक्षण र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याइन्।
उनको उपचारका लागि विभिन्न संघसंस्थाले सहयोग संकलन अभियान समेत चलाएका थिए। उनी हात्तीवनमा कान्छी छोरीसँग बस्दै आएकी थिइन्। उनका दुई छोरी छन् भने श्रीमानको केही वर्षअघि निधन भइसकेको छ।
गोलेको अन्त्येष्टि बौद्ध संस्कारअनुसार हुने परिवारले जनाएको छ।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया