इस्लामावाद । पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएपी)को र्यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । यस घटनामा अरु ३१ जना घाइते भएका छन् ।
बैठक सकिएपछि बैठक स्थलबाट केही टाढा आफ्नो साथीलाई पर्खिरहेका समयमा अचानक ठूलो विस्फोट भएको विस्फोटका घाइते जमान बलोचले बताए । विस्फोट पछि धेरै मानिसहरू भुइँमा लडिरहेको आफूले देखेको अनि चारैतिरबाट चिच्याइरहेको आवाज आइरहेको पनि उनले बताएका थिए ।
यो विस्फोट नवाब नियाज जेहरीको गाडी नजिकै भएको बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलोचले भने । विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मी पनि मारिएको उनको भनाइ थियो ।
राज्य सरकारले यस घटनाको अनुसन्धानको आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले घटनाको निन्दा गरेका छन् । विस्फोट मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य भएको उनको भनाइ थियो । ‘आतंककारीहरूको अपवित्र योजनालाई हरेक हालतमा विफल पारिएको छ’ उनले भने । –एजेन्सी
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया