बेइजिङ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच बुधबार बिहान बेइजिङस्थित दियाओयुताइ होटलमा द्वीपक्षीय भेटवार्ता भएको छ।
चीनले आयोजना गरेको सैन्य परेडमा सहभागी भएका अवसरमा भएको उक्त भेटमा पुटिनले दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ बलियो बनाउन चाहेको बताएका छन्। युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाले दिएको सहयोगप्रति पुटिनले आभार प्रकट गर्दै कर्स्क क्षेत्रमा उत्तर कोरियाली सेनाले बहादुरीपूर्वक लडेको स्मरण गरेका छन्।
रिपोर्टअनुसार, उत्तर कोरियाले हालसम्म १० हजारभन्दा बढी सैनिक रूसलाई सहयोगका लागि पठाएको छ। तीमध्ये धेरैलाई अग्रपंक्तिमा खटाइएकाले हजारौं सैनिकको ज्यान गएकोसम्बन्धी तथ्याङ्क पनि सार्वजनिक भएको छ।
किम जोङ उनले आफ्ना सेनाको प्रशंसा गरेकामा पुटिनलाई धन्यवाद दिँदै उत्तर कोरिया अझ सहयोग गर्न तयार रहेको बताएका छन्। उनले यसलाई “एउटा भाइले अर्को भाइलाई गरेको सहयोग” को रूपमा व्याख्या गर्दै आगामी दिनमा दुई देशबीच थप सहकार्य गर्ने सम्भावना रहेको बताएका छन्।
यसअघि पनि बेइजिङको सैन्य परेडअघि पुटिन र किमबीच भेट भएको थियो। सो अवसरमा चीनका राष्ट्रपति सी चिनफिङ पनि उपस्थित थिए।
तीन नेताहरू एकै मञ्चमा देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाउँदै यसलाई “अमेरिकाविरुद्धको षड्यन्त्र”को रूपमा टिप्पणी गरेका छन्।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया