काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने निर्देशन दिएका छन्। उनले सवारी दुर्घटना न्यूनीकरणमा ध्यान दिन र उपत्यकामा ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायलाई सक्रिय रहन आग्रह गरेका छन्।
मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको बैठकमा उपत्यकाको ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था र चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। बैठकमा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले ट्राफिक व्यवस्थापनका विभिन्न पक्षहरू प्रस्तुत गरेका थिए।
बैठकले निम्न निर्णयहरू गरेको छ:
-
सामग्री तथा उपकरण उपलब्ध गराउने: ट्राफिक प्रहरीलाई उपयुक्त उपकरण र सामाग्री उपलब्ध गराउने जिम्मेवारी श्रम, रोजगार तथा यातायात मन्त्रालयले लिने।
-
सवारी इजाजत पत्र व्यवस्थापन: उपत्यका र उपत्यकाभन्दा बाहिर सञ्चालन हुने सार्वजनिक सवारीहरूको रुट पर्मिट विद्युतीय प्रणालीमार्फत व्यवस्थित गर्ने।
-
सवारी चालक अनुमति पत्र अभिमुखीकरण: सम्बन्धित जिल्लाको यातायात कार्यालय र ट्राफिक प्रहरीसँग समन्वय गरी अनुमति पत्रधारीलाई ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने।
-
ट्राफिक लाइट व्यवस्थापन: आवश्यक स्थानमा ट्राफिक लाइट जडान गर्ने, स्थानीय तहसँग समन्वय गरी लाइटको नियन्त्रण र सञ्चालन ट्राफिक प्रहरीले गर्ने।
-
जनचेतना कार्यक्रम: ट्राफिक प्रहरीसँग मिलेर सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियम र सावधानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
-
समस्या र समाधानको छलफल: यातायात व्यवस्थापनका विभिन्न समस्याहरूको समाधानका लागि यातायात कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र अन्य सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने।
मुख्यमन्त्री बानियाँले सबै निकायलाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गर्दै उपत्यकामा व्यवस्थित, सुरक्षित र प्रभावकारी ट्राफिक व्यवस्थापन कार्यान्वयनमा जोड दिएका छन्।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया