काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग विश्व खाद्य कार्यक्रम–नेपालका प्रतिनिधि रियाज लोधीबीच भेटवार्ता भएको छ।
भेटमा मन्त्री अधिकारीले नेपालको संविधानले खाद्य अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै, खाद्य सुरक्षा र पोषणका क्षेत्रमा विश्व खाद्य कार्यक्रमद्वारा प्रदान हुँदै आएको सहयोगको सराहना गरे। उनले आगामी दिनमा मन्त्रालय र कार्यक्रमबीच थप प्राथमिकताका आधारमा सहकार्य आवश्यक हुने बताए।
मन्त्री अधिकारीले भने, “प्रत्येक नागरिकले स्वस्थ र पोषणयुक्त खाना पाउनु पर्ने नैसर्गिक हकको सुनिश्चितताका लागि खाद्य पदार्थको नियमित उपलब्धता आवश्यक छ।” उनले सोह्रौं पञ्चवर्षीय योजना, कृषि विकास रणनीति २०७२–९२, राष्ट्रिय पोषण रणनीति २०७७ लगायतका नीतिगत दस्तावेजमा पोषणयुक्त खाद्य पदार्थको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताए।
स्थानीय र रैथाने खानेकुरालाई प्रवर्द्धन गर्ने विषयमा पनि मन्त्रालयले विशेष जोड दिएको उल्लेख गर्दै, यस कार्यमा विश्व खाद्य कार्यक्रमको निरन्तर सहयोग आवश्यक रहेको उनले बताए।
विश्व खाद्य कार्यक्रमका प्रतिनिधि लोधीले नेपालको खाद्य सुरक्षा र पोषण क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको बताए। उनले आगामी दिनमा मन्त्रालयले तय गरेका लक्ष्य हासिल गर्न कार्यक्रमले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, जलवायु परिवर्तनका कारण कृषि, खाद्य र पोषण क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरण गर्न पनि विश्व खाद्य कार्यक्रमले प्राथमिकताका आधारमा सहयोग बढाउने तयारी रहेको प्रतिनिधि लोधीले जानकारी दिए।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया