जलेश्वर ।  समयमा पानी नपरेर ढिलो गरी धान रोप्न सुरु गरेका जिल्लाका किसानहरू हालसम्म पनि रोपाइँमा व्यस्त छन् । आज पनि जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–८ का किसान रोपाइँमा व्यस्त देखिन्छन् । रामआश्रे मण्डल, किताब कवारी, मनोज ठाकुर र असर्फी साहले करिब ३६ जना रोपाहार (धानरोप्ने) लगाएर रोपाइँ गराइरहेका छन् ।

समयमा पानी नपरेकाले यस वर्ष यहाँ ढिलो गरी धान रोपाइँ सुरु भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म करिब ७६ प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको हो ।

advertisement

पानी नपरेर बीउ डढ्ने, सिँचाइ समस्याका बीचमा गत साउन १५ गतेपछि पानी पर्न सुरु गरेपछि किसानले रोपाइँ सुरु गरेकामा हालसम्म करिब ७६ प्रतिशत सम्पन्न भइसकेको केन्द्रका प्रमुख देवानन्द रायले जानकारी दिए । उनले यो वर्ष यहाँका अधिकांश किसानले बासमति धान लगाएका छन् । बासमति धानको बोट कम सिँचाइमा पनि सप्रिने र उत्पादन दिने भएकाले किसानको रोजाइमा परेको उनले बताए ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा रहेकामा ६४ हजार ९७७ हेक्टरमा खेती हुँदै आएको केन्द्रका प्रमुख रायले जानकारी दिए । उनका अनुसार हालसम्म पनि रोपाइँ भइरहेकाले यसवर्ष करिब ४० हजार हेक्टरमायसवर्ष धानखेती हुने अनुमान गरिएको छ ।

प्रमुख रायका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुँवा र स्यालो ट्युवबेलको सहयोगमा केही मात्रामा धान रोपे पनि जिल्लाभरि गत साउन १५ गतेपछि मात्रै सबै क्षेत्रमा रोपाइँ सुरु भएको थियो ।

गत वर्ष समयमा पानी परेकाले जिल्लाको कूल ४२ हजार ५०० हेक्टर जग्गामा धानखेती गरिएको थियो । गत वर्ष एक लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ । यस वर्ष भने सिँचाइ अभावका कारण उत्पादनमा केही कमी आउने अनुमान गरिएको केन्द्रका प्रमुख रायले बताए ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com