काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रतिनिधि सभामा सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेम्वाङले यस विषयलाई जनतासँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्दा रहेको बताए। उनले भने, ‘सरकारले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन तत्काल स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्रै चरणबद्ध रूपमा अघि बढाउनुपर्छ।’
नेम्वाङले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनले जनतालाई झन्झट, सास्ती र समस्या मात्रै बढाएको टिप्पणी गरे। उनले जोड दिए, ‘सवारी साधन खरिदमा उच्च कर, वार्षिक अनिवार्य बीमा, सडक कर तिर्न लामो लाइन, लाइसेन्स बनाउँदा फारम र परीक्षा, प्रतीक्षाको लामो समय—यी सबैले आम नागरिकको जीवन थप जटिल बनाएको छ। यस्तो अवस्थामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नु उचित छैन।’
सांसद नेम्वाङले प्रश्न उठाए, ‘जनताको तहबाट उठेका यी प्रश्नहरूलाई कसरी सम्बोधन गरिनेछ? के हामीसँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन्?’ उनले जनताको भावनासँग जोडिएको प्रश्नलाई नजरअन्दाज नगर्न पनि सरकारसँग आग्रह गरे।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया