काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कदम चाल्न असमर्थ रहेको बताएका छन्।
बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष दाहालले भ्रष्ट र दलालले मिलेर कांग्रेस–एमाले गठबन्धन सरकार बनाएको आरोप लगाएका हुन्। उनका अनुसार, दलाल र बिचौलियाहरूले आफ्ना स्वार्थअनुसार सरकार गठन गराएका कारण यसले भ्रष्टाचार, बेथिति र अराजकता नियन्त्रणमा लिन सक्दैन।
प्रचण्डले भने, ‘सत्तारुढ गठबन्धन नेताहरूले होइन, बिचौलिया र दलालहरूले आफ्ना इच्छा अनुसार यो सरकार बनाएका हुन्। त्यसकारण यस सरकारले राम्रो काम गर्ने व्यक्तिहरूलाई हटाइरहेको छ। उपसभामुख इन्दिरा राना, कुलमान घिसिङ, कान्छा राम जस्ता सक्षम व्यक्तिहरूलाई हटाइँदैछ।’
अध्यक्ष दाहालले आफूले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकारबाट हटाइएका अनुभवलाई पनि स्मरण गर्दै भने, ‘राम्रो काम गर्ने व्यक्तिलाई हटाइन्छ, आफ्नो फाइदा हुने अनुसार बिचौलिया र दलालले मनपर्ने व्यक्ति नियुक्त गरिन्छ। यो अवस्था परिवर्तन गर्न हामी आफैं अगाडि बढ्नुपर्छ।’
उनले मुलुकलाई सही मार्गमा अघि बढाउन प्रत्यक्ष निर्वाचन, कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको पनि जोड दिए।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया