काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार कांग्रेस र एमालेको होइन, बिचौलिया र दलालको नियन्त्रणमा रहेको आरोप लगाएका छन्।
बुधबार पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले भने, ‘दिखावटमा पार्टीहरूले राज्य चलाउँदै आएको जस्तो देखिए पनि वास्तविकता यस्तो छैन। सत्ता बिचौलिया र दलालको पैसाको बलमा सेटिङ गरेर चलाइएको छ। उनीहरूले करोडौँ र अरबौँ खर्च गरेर नेताहरूलाई नियन्त्रणमा राखेका छन्।’
उनले आफूले सुशासन र भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएको र कर्मचारी भर्ना तथा निर्णय प्रक्रियामा दलाल-बिचौलियाले हस्तक्षेप गर्ने प्रचलन रोक्ने प्रयास गरेको बताए।
प्रचण्डले वर्तमान गठबन्धन पनि बिचौलिया र दलालको हस्तक्षेपबाट बनेको भन्दै, ‘राम्रो काम गर्न खोज्नेहरू हटाइएका छन्। कुलमान घिसिङ, कान्छाराम, इन्दिरा राना लगायतले आफ्नो जिम्मेवारी पूरा गर्दा पनि सरकारबाट हटाइएका हुन्। छानबिन गर्नेलाई पनि हटाइएको छ। जनजाति प्रतिनिधिहरू हटाइएका छन्,’ उनले भने।
उनले सबै पार्टीका महिलाहरूलाई बिचौलिया र दलालको नियन्त्रणको विरुद्ध सडक आन्दोलनमा उत्रिन आह्वान गरेका छन्।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया