काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले फोनमार्फत धम्की दिने महिलाप्रति आफूले कुनै पूर्वाग्रह नराखेको स्पष्ट पारेका छन्।
बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले धम्की दिएको आरोपमा पर्सा प्रहरीले हिरासतमा लिएकी महिलासँग आफूलाई नजोड्न आग्रह गरेका छन्। ‘हिंसात्मक भावना व्यक्त गर्दा यस्तो स्थिति सिर्जना भएको हो। महिलालाई प्रहरीले थुनिएको विषयसँग मलाई जोड्नु ठीक हुँदैन,’ उनले लेखेका छन्।
मन्त्री यादवका अनुसार प्रारम्भमा उनलाई फोन गर्ने महिलाले आफन्त बिरामी भएकाले आक्रोश पोखेको अनुमान गरेका थिए। तर पछि अस्पतालमा जानकारी लिँदा वीरगञ्जका कुनै पनि अस्पतालमा उनका परिवारका सदस्य भर्ती नरहेको खुलेको उनले बताए।
यादवले भनेका छन्, ‘गुहार माग्ने साटो उनले ज्यान मार्ने धम्की दिएकी थिइन्। त्यसैले मसँग आएको नम्बर र विवरण मात्र प्रहरीलाई उपलब्ध गराएको हुँ।’
उनका अनुसार पर्सा प्रहरीले अनुसन्धानका क्रममा ती महिलालाई हिरासतमा राखेको हो, जसमा आफूको व्यक्तिगत पूर्वाग्रह कतै छैन। एक जनप्रतिनिधिमाथि असन्तुष्टि पोख्नुलाई सामान्य रूपमा लिए पनि मार्ने धम्की र अफवाह फैलाउने गतिविधिले आफ्ना शुभेच्छुकहरूलाई चिन्तित बनाएको मन्त्री यादवको भनाइ छ।
यादवले फोनकर्तालाई उक्साउने वा निर्देशन दिने पृष्ठभूमि छ कि भन्नेबारे प्रहरीले छानबिन गर्ने पनि बताए। साथै, ‘कसैलाई बाटो बिराउनबाट रोक्नु हाम्रो जिम्मेवारी हो। महिलालाई सच्चिन सहयोग गर्ने र लोकतान्त्रिक अधिकार प्रयोग गर्ने वातावरण बनाउन मेरो समर्थन रहनेछ,’ भन्दै प्रहरीसमक्ष पनि नरम व्यवहार गर्न सचिवालयमार्फत आग्रह गरिएको उनले स्पष्ट पारे।
गत साताअघि वीरगञ्जकी किरण साहलाई मन्त्री यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा पक्राउ गरिएको थियो। मन्त्री यादवको सचिवालयबाट प्राप्त उजुरीका आधारमा उनलाई पर्सा प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया