काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन विधेयक माथि प्रतिनिधि सभामा पुनर्विचार प्रस्ताव बिहीबार पेश हुन सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक सदनमा प्रस्तुत गर्ने तयारी गरेका भएपनि सभामुख देवराज घिमिरेले अन्तिम समयमा त्यसलाई कार्यसूचीबाट हटाएका हुन्।
सङ्घीय संसद्का दुवै सदनले पारित गरी सभामुखमार्फत प्रमाणीकरणका लागि राष्ट्रपतिलाई पठाइएको विधेयक गत साउन ८ गते राष्ट्रपति कार्यालयबाट पुनर्विचारको लागि फिर्ता आएको थियो। राष्ट्रपति पौडेलले विधेयकले संविधानको मर्म, लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यासको प्रतिकूल असर पार्ने भएको उल्लेख गरेका थिए।
संविधानको धारा ११३ को उपधारा ३ अनुसार, प्रमाणीकरणका लागि पेश विधेयकमा पुनर्विचार आवश्यक ठानेमा राष्ट्रपति त्यो विधेयक उत्पत्ति भएको सभामा फिर्ता पठाउन सक्ने व्यवस्था रहेको छ। यही प्रावधानअनुसार राष्ट्रपति पौडेलले विधेयक फिर्ता पठाएका हुन्।
उक्त परिस्थितिका बीच, सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक भदौ २५ गते दिनको एक बजेसम्मका लागि स्थगित गर्ने निर्णय गरेका छन्।
प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया