काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक दलहरूको मूल्याङ्कन गर्दै आफ्ना विचारसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। पार्टीको दोस्रो विधान महाधिवेशनका लागि तयार गरिएको ९८ पृष्ठ लामो प्रतिवेदनमा उनले कांग्रेस, माओवादी केन्द्र, मधेसवादी दल, राप्रपा तथा रास्वपालगायतका दलबारे टिप्पणी गरेका छन्।
अध्यक्ष ओलीले सत्ता साझेदार नेपाली कांग्रेसलाई ‘लोकतन्त्रको रक्षा र प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएको शक्ति’का रूपमा चित्रण गरेका छन्। तर, विश्वमै असफल भएको नवउदारवादी नीतिलाई अगुवाइ गर्ने क्षमताविहीन भएको भन्दै उनले कांग्रेसबाट समाजवादको आधार निर्माण असम्भव रहेको धारणा राखेका छन्।
माओवादी केन्द्रबारे ओलीले ‘माओवादी’ नाम नै बोझिलो बनेको टिप्पणी गर्दै त्यसलाई अस्थिर, अवसरवादी र विभाजनकारी शक्ति भनेका छन्। सशस्त्र युद्ध र एकदलीय अधिनायकवादी सोच असफल भइसकेको भन्दै उनले माओवादीलाई वैचारिक तथा सांगठनिक रूपमा क्षयमान भएको दलको रूपमा प्रस्तुत गरेका छन्।
त्यस्तै, मधेसवादी दलहरूलाई सङ्कीर्ण सोच, यथास्थितिवाद र राष्ट्रियताबारे त्रुटिपूर्ण दृष्टिकोण बोकेको भन्दै उनीहरूले राष्ट्रको नेतृत्व गर्न नसक्ने आरोप लगाएका छन्।
राप्रपा र अन्य राजावादी समूहबारे ओलीले राजतन्त्र फर्काउने प्रयास र धर्मलाई राजनीतिक हतियार बनाउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। संविधान र कानुनको अवज्ञा गर्दै अराजक गतिविधि गर्ने प्रवृत्ति बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन्।
प्रतिवेदनमा उनले नाम नलिई समाजमा उत्पन्न असन्तोष र नकारात्मकतालाई उपयोग गरेर उदाएका केही दल र व्यक्तिहरूलाई ‘पपुलिष्ट’ को संज्ञा दिएका छन्। सो सन्दर्भमा उनको संकेत रास्वपा, काठमाडौंका मेयर बालेन शाह र हर्क साम्पाङतर्फ रहेको बुझिएको छ।
अध्यक्ष ओलीले समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी एमालेबाहेक अरू कुनै दलले पूरा गर्न नसक्ने दाबी गरेका छन्। साथै, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन संकल्पबद्ध रहेको उल्लेख गर्दै उनले नेपालको राजनीति सधैं ‘राष्ट्रिय शक्ति’ र ‘आत्मसमर्पणवादी शक्ति’बीचको प्रतिस्पर्धामा आधारित रहेको बताएका छन्।
ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विधान महाधिवेशनमा छलफल हुनेछ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया