काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनमा चुनौती देखिए पनि संगठन उज्ज्वल दिशातर्फ अघि बढिरहेको बताएका छन्।

शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको विधान अधिवेशन उद्घाटन गर्दै उनले एमालेलाई बलियो र प्रभावशाली बनाउन निरन्तर प्रयास भइरहेको उल्लेख गरे। ओलीले भने, ‘पार्टीभित्र कतिपय अवस्थामा अनुशासनमा कमजोरी र बेलगाम हुने प्रवृत्ति देखिएको छ। तर, यी कमजोरीका बीच पनि हामी उज्ज्वल भविष्यतर्फ अघि बढिरहेका छौँ।’

आगामी निर्वाचनलाई ध्यानमा राख्दै अघि सारिएको ‘मिसन २०८४’ अन्तर्गत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा प्रस्तुत गर्ने योजनाबारे पनि उनले प्रष्ट पारे। उनका अनुसार, एमालेको नीति–कार्यक्रम नै मुलुककै राष्ट्रिय नीति हुन्, जसबाट सामाजिक न्याय, समावेशी विकास र सामूहिक आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।

विपक्षी दलहरूले एमालेविरुद्ध तथ्यहीन प्रचार गरिरहेको आरोप लगाउँदै ओलीले थपे, ‘हाम्रो नीति नै राष्ट्रिय नीति हो। त्यसविरुद्ध साँचो तर्क कसैसँग छैन। विरोध मात्र गरेर हाम्रो बाटो रोकिँदैन।’

अध्यक्ष ओलीले पार्टीलाई अनुशासन, समर्पण र साझा राष्ट्रिय लक्ष्यका आधारमा सुदृढ बनाउन नेता–कार्यकर्तालाई आह्वानसमेत गरे।

 

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com