काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वसामु चिनाउने प्रमुख आधारका रूपमा रहेका भाषा, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
नेपाल कला परिषद्, बबरमहलमा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव–२०८२ अन्तर्गतको चित्रकला प्रदर्शनी उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीले प्रदान गर्ने समान अवसरको उपयोग गर्दै सबै क्षेत्र सक्रिय हुनुपर्नेमा जोड दिए। उनले भने, “लोकतन्त्रको सुन्दर पक्ष नै सबै वर्ग, पेशा र क्षेत्रलाई समान अवसर दिनु हो। यही अवसरलाई प्रयोग गरेर हाम्रो भाषा, कला र संस्कृतिको विकास र संरक्षणमा जुट्नुपर्छ।”
राष्ट्रपति पौडेलका अनुसार नेपालका प्राचीन धरोहर, कला र सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान र अवलोकनका लागि वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिन्छन्। त्यसैले सम्पदा संरक्षणप्रति सम्पदाप्रेमीहरू सधैं सचेत रहनुपर्ने आवश्यकता उनले औंल्याए।
उनले नेपाली कला, संस्कृति र सम्पदाको वैशिष्ट्यपूर्ण पुँजीले स्वदेशी तथा विदेशी पर्यटक र व्यवसायीलाई आकर्षित गर्न सक्ने उल्लेख गर्दै यसको व्यापक प्रचार–प्रसार भए मुलुकको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे। “नेपाली सभ्यताको परिसूचकका रूपमा रहेका कला र संस्कृतिले विश्वमा विशिष्ट स्थान ओगट्नु हाम्रो गौरव हो,” राष्ट्रपति पौडेलले भने।
उनका अनुसार सदियौँ पुराना सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन सरकार मात्र होइन, निजी क्षेत्र र आम नागरिक सबैको साझा जिम्मेवारी हो। उनले नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहकार्यमा महोत्सव आयोजना भएकोमा खुसी व्यक्त गरे।
राष्ट्रपति पौडेलले सबैको सहकार्यले पर्यटन क्षेत्रको दिगो विकासको आधारशिला तयार हुने विश्वास पनि व्यक्त गरे।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया