काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबारे दिएको विवादास्पद टिप्पणीबाट करिब १२ घण्टामै पछि हटेका छन्।
शुक्रबार बिहान उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’मा, ‘हामीले भारत र रुसलाई चीनतिर गुमाएको जस्तो देखिन्छ। आशा छ, उनीहरूको भविष्य राम्रो होस्,’भन्दै निराशा प्रकट गरेका थिए। तर साँझ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भने उनले पूर्व वक्तव्य स्पष्ट पार्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँगको व्यक्तिगत सम्बन्धलाई जोड दिए। ‘म सधैं मोदीको साथी हुनेछु। भारतसँगको सम्बन्ध अझ प्रगाढ बनाउन म सधैं तत्पर छु,’ट्रम्पले भने।
पत्रकार सम्मेलनमा ट्रम्पले भारतसहित विभिन्न मुलुकहरूसँग भइरहेको व्यापार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए। तर युरोपेली संघ (ईयू)ले गुगलमाथि ३.५ अर्ब डलर जरिवाना लगाएकोप्रति उनले असन्तुष्टि जनाए। साथै, भारतले रुसी तेल खरिद गरिरहेकोमा असन्तोष व्यक्त गर्दै त्यसका लागि अमेरिकाले ५० प्रतिशतसम्मको उच्च शुल्क लगाउने चेतावनी पनि दिए।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री मोदी र ट्रम्पबीच सधैं राम्रो व्यक्तिगत सम्बन्ध रहेको भन्दै भारत–अमेरिका साझेदारीलाई भारतले अत्यन्तै महत्त्व दिने बताए। ‘हाम्रो सरोकार स्पष्ट छ, भारत अमेरिकासँग मजबुत रूपमा जोडिएको छ,’उनले भने।
शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको पछिल्लो अभिव्यक्ति उद्धृत गर्दै सामाजिक सञ्जाल ‘एक्स’मा प्रतिक्रिया दिएका छन्। उनले लेखे, ‘राष्ट्रपति ट्रम्पले हाम्रो सम्बन्धबारे व्यक्त गरेका भावना र विचारको म मनैदेखि प्रशंसा गर्छु। म उहाँलाई पूर्ण समर्थन गर्दछु।’मोदीले भारत–अमेरिकाबीच दीर्घकालीन र रणनीतिक साझेदारी रहेको र त्यसलाई अझ मजबुत बनाइने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार













प्रतिक्रिया