काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको कांग्रेसले देशमै गुणस्तरीय रोजगारी सिर्जना गरेर युवाको पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरेक कांग्रेसले देखेको सपना नागरिकको दैनिक जीवनसँग जोडिनु आवश्यक भएको र त्यसलाई पूरा गर्न पार्टी प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
थापाले नेपालमा पूर्वाधार विकाससँगै जनताको आकांक्षाहरू पनि तीव्र रूपमा बढेको बताए। ‘देशभरि पूर्वाधार बनेको छ, विकास पनि भएको छ। तर यससँगै नागरिकहरूको अपेक्षाहरू बढ्नु स्वाभाविक हो,’ उनले भने। उनका अनुसार, धेरै युवा रोजगारीको खोजीमा विदेश जाने गरेका छन्, जसलाई रोक्न नेपालमै आकर्षक रोजगारी सिर्जना गर्न आवश्यक छ।
महामन्त्री थापाले कोरियाको अनुभव साझा गर्दै भने, ‘म कोरिया गएँ। त्यहाँ एकजना केटाले महिनामा दुई लाख बचत गर्छ, मासिक आम्दानी २.५ लाख छ। तर मेरो देशमा गुणस्तरीय रोजगारी पाउनेहरूको संख्या ५० हजारभन्दा बढी छैन। अहिले वर्षको कम्तीमा पाँच लाख गुणस्तरीय रोजगारी सिर्जना गर्नु आवश्यक छ।’
उनले जोड दिए कि ‘साधारण रोजगारीले मात्र पुग्दैन। लाखौँ नागरिकलाई राम्रो आम्दानी हुने रोजगार दिनुपर्छ। हाम्रो सपना भनेको नेपालका युवाले विदेश नजाने, आफ्नै देशमै बसेर सम्मानजनक आम्दानी गर्न सक्ने अवस्था निर्माण गर्नु हो। यसको लागि हामी जे पनि गर्न तयार छौँ।’
थापाले वर्तमान राजनीतिक शक्ति र सरकारमा बस्नु वा नरहुनु पार्टीको प्राथमिकता नभएको भन्दै, ‘मेरो लागि पहिलो प्राथमिकता नागरिकको भविष्य र रोजगारीको सुनिश्चितता हो। मैले देखेको सपना नागरिकको सपना बनाउनेछु र त्यसलाई पूरा गर्न प्रतिबद्ध छु,’ भने।
बीपी कोइरालाले नेपालीलाई गरिबीबाट मुक्त गर्ने सपना देखेको स्मरण गर्दै थापाले आजको कांग्रेसले युवालाई नेपालमै बस्ने वातावरण सिर्जना गर्ने लक्ष्य अपनाउनुपर्ने बताए।
प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार











प्रतिक्रिया